ताजा समाचार

एमसिसीबारे परराष्ट्रमन्त्री : केही मान्छेलाई मनको बाघले तर्साउँदैछ

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसनलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको बताएका छन्।

विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयबारे उठेका प्रश्‍नबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्।  ‘एमसिसी बारे नेपालका केही व्यक्तिलाई मनको बाघले तर्साइरहेको छ,’ उनले भने, ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खाने गरी एमसिसीबारे अनावश्यक बहसमा नजाऊँ।’ उनले मित्र राष्ट्रसँग विकास साझेदारी गर्दा नेपाल कुनै पनि सैन्य रणनीतिमा साझेदार नहुने स्पष्ट पारे। ‘विकास साझेदारीका क्रममा कुनै पनि देशसँग सैन्य साझेदारी हुँदैन।

नेपाल कुनै पनि देश वा संस्थासँग सैन्य साझेदारी गर्ने पक्षमा पनि छैन’, उनले भने, ‘भविष्यमा पनि सैन्य साझेदारी हुने गरी विकास सहायता लिइँदैन।’

‘आफ्नो हितमा बोल्नु अरुको अहित गर्नु होइन

परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल सानो छ भनेर लघुताभाष पालेर बस्नुपर्ने अवस्था नरहेको पनि बताएका छन्। ‘नेपाल सानो छ, अविकसित छ, कमजोर छ भनेर गरिने लघुताभाष अब पालिरहनु जरुरी छैन’, उनले भने, ‘अब त्यो बदलिएको छ। अब हाम्रो हितका कुरा राख्नलाई कोहीसँग डराएर खुम्चिनु पर्दैन। हामीले आफ्नो राष्ट्रहितको पक्षमा बोल्नु कसैको अहित गर्नु होइन।’  मन्त्री ज्ञवालीले नेपाल अब भूपरिवेष्ठितबाट भूजडित देश भएको बताए।

‘नेपाल अब भूजडित देश भइसकेको छ’, उनले अगाडि थपे, ‘अब नेपालले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन। हाम्रा सम्बन्धहरु फैलिइरहेका छन्।’ परराष्ट्र नीति संवेदनशील विषय भएको बताउँदै ज्ञवालीले कसैले बोल्दा धेरै पटक सोच्नुपर्नेमा जोड दिए। उनले विदेशस्थित राजदूतावास हटाउनुपर्ने सांसदहरुको मागमा असहमति जनाए । ‘संसार पुग्न पखेटा पनि चाहिएला नि, काठमाडौं खाल्डोमा मात्रै सीमित भएर त नहोला’, उनले भने, ‘ती राजदूतावास भनेका हाम्रा पखेंटा हुन्, तिनैका कारण हामी विश्वभर पुगेका छौँ। तिनलाई खारेज गर्ने विरोधाभाषपूर्ण कुरा नगरौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org