ताजा समाचार

निगम र हिमालयका ८ वटा जहाजले विदेशबाट नेपाली ल्याउने

काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजलाई पठाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार, बुधबार अन्तिम निर्णय हुँदैछ ।

‘निगम र हिमालयका जहाज पठाउने सैद्धान्तिक सहमति भइसकेको छ,’ मन्त्री भट्टराईले कान्तिपुरससँग भने, ‘आज यसबारे पर्यटन र परराष्ट्र मन्त्रालयले टुंग्याउने छ ।’

नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान छन् । हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस–३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस–३२० गरी चार वटा न्यारोबडी जहाज छन् ।

यीबाहेक विदेशी वायु सेवाबाट पनि विदेशमा अलपत्र परेका नेपाली आउने छन् । ‘कतिपय श्रम गन्तव्यबाट कामदारका कम्पनीको खर्चमा उतैका जहाजले पनि नेपाली यात्रुलाई ल्याउन पाउने छन’, मन्त्री भट्टराइले भने ।

त्यसैगरी नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय एयरलायन्सका पदाधिकारीबीच छलफलबाट निर्णय हुने मन्त्री भट्टराइले बताए ।

नेपाल वायुसेवा निगमले काठमाडौंबाट २६ वटा गन्तव्यमा उडान गर्न सकिने जनाउँदै पर्यटन सचिव केदारबहादुर अधिकारीसमक्ष भाडासहितको सूची बुझाइसकेको छ ।

उक्त प्रस्तावमा निगमले वाइडबडी र न्यरोबडीको भाडादर फरक नहुने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org