ताजा समाचार

नेकपा स्थायी समिति बैठक १० असारमा बस्ने : एमसिसी मुख्य एजेन्डा

काठमाडाैँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १० असारमा बोलाइएको छ ।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।

‘उहाँहरूले १० असारमा बैठक बोलाउने सहमति गर्नुभएको छ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अन्यथा कुनै सूचना भएन भने अब स्थायी कमिटी बैठक बस्छ र एजेन्डाहरूमा छलफल हुन्छ ।’

नेकपाको विधानअनुसार तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था भए पनि करिब ६ महिनादेखि बोलाइएको छैन । गत २९ मंसिरमा बसेको स्थायी समिति बैठक ६ पुसमा सम्पन्न भएको थियो ।

अमेरिकन मिलेनियम च्यालेन्ज (एमसिसी), सरकारको कामको समीक्षालगायतका विषयमा छलफलका लागि बैठक आवश्यक भएको भन्दै १० वैशाखमा २० जना स्थायी समिति सदस्यहरूले बैठक माग गर्दै अध्यक्ष ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । त्यसपछि २५ वैशाखमा बोलाइएको बैठक अचानक स्थगित भएपछि थुप्रै नेताहरू असन्तुष्ट रहँदै आएका छन् । तिनै थाँती विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकिएको हो ।

सरकारले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामासमेत मागेको थियो । तर, प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिएको अवस्थामा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाइने प्रस्ताव गरेपछि नेकपाभित्रको विवादले अर्कै मोड लिए पनि मत्थर भने भइसकेको छैन ।

दुई महिनादेखि निरन्तर बैठक माग हुँदै आए पनि प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रम र बजेटपछि मात्रै स्थायी समिति बैठक बोलाउने अडान राख्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org