ताजा समाचार

नेपालले चीन र भारतलाई भन्यो : सिमानाको तनाव शान्तिपूर्ण ढंगले सुल्झाउनू

काठमाडौं  । नेपालले लद्दाखस्थित गलवान उपत्यकामा २० सैनिक मारिने गरी भएको चीन-भारत हिंसाबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ।

घटनाको पाँच दिनपछि परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा भएको हिंसापछि दुई निकट छिमेकी चीन-भारतबीच उत्पन्‍न तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउन नेपालले आग्रह गरेको हो।  नेपालले गलवान उपत्यकामा करिब ५५ वर्षपछि भएको रक्तपातपूर्ण झडपपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै दुवै देश अहिलेका समस्या समाधानमा सक्षम रहेको पनि जनाएको छ। ‘हाम्रा दुई छिमेकी भारत र चीनबीचको तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउनु पर्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘गलवान क्षेत्रमा उब्जिएका समस्या समाधान गर्न दुवै छिमेकी सक्षम छन्।

‘ नेपालले असल छिमेकीको भावना देखाएर चीन र भारत अगाडि बढ्नुपर्ने बताएको छ। ‘असल छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्तिको पक्षमा शान्तिपूर्ण माध्यमबाट अहिलेको विवाद समाधान गर्नेछन्’, परराष्ट्रले भनेको छद, ‘नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा छ। दुवै छिमेकीले अहिलेको समस्या पनि शान्तिकै माध्यमबाट समाधान गर्ने विश्‍वास लिएका छौं।’ गत असार १ गते राति लद्दाखस्थित भारत-चीन सीमा क्षेत्रको गलवान उपत्यका दुई देशका सेनाबीच भएको हिंसक झडपमा भारतीय सेनाका एकजना कर्नेलसहित २० जना मारिएका थिए।

त्यसक्रममा चिनियाँ सेनाले भारतीय सेनाका दुई अधिकृतसहित १० जनालाई नियन्त्रणमा लिएको थियो। यो घटनापछि दुई देशबीच तिक्तता चुलिएको छ। भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। अर्कातिर चीनले भने भारतकै कारण यो घटना हुन पुगेको दाबी गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org