ताजा समाचार

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

ओली क्याम्पको राजनितिक परामर्शमा गृहमन्त्री थापा र भट्ट

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् ।

मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनीहरूका नजिकका स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले बैठकमा जानुअघि आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन् ।

आफूमाथि हुन सक्ने सम्भावित खतराको आकलन गर्दै मंगलबार बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्रीले बैठक पछि पनि पुनः भेट गरेका थिए ।

उक्त भेटघाट सकेपछि साँझ आफूनिकट नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीपरिषद्का सदस्य तथा स्थायी कमिटी सदस्यहरूसँग पनि परामर्श गरेका हुन् ।

संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलदेखि मन्त्रीपरिषद्का सदस्यहरू बैठकमा उपस्थित छन् ।

गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टसहित बहुमत सदस्यलाई बोलाएर वालुवाटारमा प्रधानमन्त्रीले परामर्श गरिरहेको वालुवाटार स्रोतले बताएकाे छ ।

‘प्रधानमन्त्रीलाई आफ्नो अडानबाट पछि नहट्नका लागि नेताहरूले सुझाव दिनुभएको छ’, अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग्नुकाे औचित्य छैन भन्ने मत सबैकाे छ’, बैठकमा सहभागी एक नेताले भने, ‘छलफल चल्दैछ ।’

उनका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले हिजो उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org