ताजा समाचार

प्रचण्ड र ओलीपक्षीय नेताबीचको बैठक : पार्टी एकता बचाउनुपर्ने नेताहरुकोे जोड

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले ‘कम्प्रमाइज’ गरेर निकास खोज्न  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

बिहीवार अध्यक्ष प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा ओलीपक्षीय नेताहरूले यो बेला विवाद गरेर जानुभन्दा मिलेरै अघि बढ्न प्रचण्डलाई आग्रह गरेका हुन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘हामीले विवाद नलम्ब्याउने गरी अघि बढ्न सुझाव दिएका छौं । कसरी कम्प्रमाइज गर्ने भन्ने कुरा अध्यक्षद्वयबीच नै छलफल गरेर टुंगो लगाउन आग्रह गर्‍यौं ।’

उनले बालुवाटारबाट प्रधानमन्त्री ओलीले पनि आफू मिलेरै अघि बढ्न चाहेको सन्देश दिएको बताए ।

बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए ।

बुधवार राति अबेरसम्म अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ३१ जना स्थायी कमिटी सदस्यहरू ललितपुरको एक रेस्टुरेन्टमा भेला भएका थिए ।

उक्त भेलाले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने सहमति गरेको थियो ।

प्रचण्ड-नेपाल पक्षीय नेताहरूको सहमतिलाई लिएर बालुवाटार हच्केको छ । प्रधानमन्त्री ओली कुनै एक पद छोड्न राजी हुने सम्भावना रहेको बालुवाटारनिकट स्रोतको दाबी छ ।

स्रोतका अनुसार आफू मिलेर जान तयार रहेको र आवश्यकताअनुसार एउटा पद छोड्न तयार रहेको सन्देश दिएर ओलीले आफूनिकट नेताहरूलाई खुमलटार पठाएका थिए ।

खुमलटारमा प्रचण्ड र ओलीसमूहका नेताबीच भएको छलफल पौने ११ बजेसम्म चलेको थियो । छलफलको निष्कर्ष पार्टी एकतालाई बचाउनुपर्छ भन्ने नै रहेको स्रोतले जानकारी दियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org