ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, ओलीसँगको गोप्य भेटबारे देउवासँग जवाफ मागिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

मंगलबार सुरु भएर केही दिन स्थगित भएको बैठक आइतबार दिउँसो २ बजे फेरि पार्टी कार्यालय सानेपामा पुनः बस्न लागेको हो ।

सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएर बुधबारको बैठक सकिएपछि मंगलबारको बैठकमा प्रस्तुत महाधिवेशन कार्यतालिका परिमार्जनमाथिको छलफल रोकिएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकले उक्त प्रस्ताव केही परिमार्जन गरि अनुमोदन गर्ने तयारी छ ।

बैठकमा आसार १७ गते प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे बैठकमा जानकारी मागिने छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री ओलीसँगको छलफलबारे सभापतिसँग जानकारी माग्ने मनसाय बनाएको छ ।

वरिष्ठ नेता पौडेलले भने, ‘यस विषयमा सभापतिजीले जानकारी दिनुनै हुन्छ होला । कुरा उठी पनि हाल्छ ।’ नेकपा विभाजनको संघारमा पुगेका बेला ओली र देउवाबीचको छलफललाई संशयका साथ हेरिएको छ । यस्तै ओली निकट नेताहरुले बजेट अधिवेशन अन्त्यको निर्णय देउवासँगको परामर्शपछि लिएको दाबी गरिरहेका छन् । यद्यपि यस विषयमा काँग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी काँग्रेससँग कुनै परामर्श नगरिएको जानकारी दिएका थिए ।

कोरोना, सलह, बाढी पहिरो सृजित चुनौति सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएकोमा काँग्रेस विरोध जनाएको थियो ।

यसबारे पनि आजको बैठकमा छलफल हुने शर्माले जानकारी दिए । यस्तै बैठकमा सरकार जनताको जीवनको रक्षा गर्नेबेला  सत्ताको खेलमा रुमलिएको विषयमा गम्भीर छलफल गरिने उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org