ताजा समाचार

तनहुँमा पहिरोमा परेर २ को मृत्यु, १० बेपत्ता

काठमाडाैँ । आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने १० बेपत्ता भएका छन् ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी युवराज तिमिल्सिनाले बताए । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारका क्रममा रत्नहरि अस्पताल दमौलीमा मृत्यु भएको हो ।

यसैगरी व्यास नगरपालिका–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा पहिरोमा पुरिएर अनबहादुर थापाको एकै परिवारका ५ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा अनबहादुरका जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनीहरुका ५ वर्षकी छोरी अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा छन् ।

यसैगरी व्यास नगरपालिका–९ माझफाँटमा केशरबहादुर थापाको परिवारका ४ सदस्य पनि बेपत्ता भएका छन् । थापाकी ४० वर्षीया श्रीमती कमला, छोराहरु २४ वर्षका मनोज, २० वर्षका राजेश र २१ वर्षकी छोरी अन्जना थापा बेपत्ता भएको प्रहरीले जनाएको छ । यसैगरी व्यास–११ ओरालेमा पहिरोले एक पुरिएर एक जना बेपत्ता भएका छन् ।

पहिरोमा बेपत्ता भएकोको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार तनहुँकै रिसिङ–८ की ६० वर्षीया ज्योतिमाया थापाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org