ताजा समाचार

राखेपका सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए शपथ

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई शपथ गराएका हुन्। सिलवाल र कोइरालालाई मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले राखेपको सदस्यसचिव र उपाध्यक्षमा नियुक्त गरेको थियो।

सिलवाल दोस्रोपटक सदस्यसचिव नियुक्त भएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गतेसँगै सिलवालसहित राखेपका तत्कालीन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए। राखेप सदस्य सचिवबाट पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः त्यही पदमा नियुक्त भएका हुन्।

कोइराला पहिलोपटक राखेपमा प्रवेश गरेका हुन्। उनीले गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को प्रचारप्रसार विभागको संयोजक रहेका थिए।

सदस्यसचिव र उपाध्यक्ष दुवैको कार्यकाल ४ वर्ष रहेको छ। छ दशकअघि स्थापना भएको राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्यसचिव नियुक्ति भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org