ताजा समाचार

दुई गाउँका स्थानीयबीच झडप हुँदा १३ राउण्ड हवाई फायर

काठमाडाैँ ।  बारामा कुलो थुनेर माछा मारेको विषयमा दुई गाउँलेबीच विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार गरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वावासीबीचको विवाद उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन पहिले आश्रुग्याँस र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

झडपको क्रममा दुवैपक्षका ९ जना सर्वसाधारण र चार जना प्रहरी घाइते भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

ढुंगामुढा र लाठी प्रहारबाट घाइते भएका सबैको अवस्था समान्य रहेको उनले बताए । उनका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्यचौकी तथा क्लिनिकमा उपचार भइरहेको छ ।

पटेर्वातिरबाट बगेर आएको कुलो भगवानपुरका स्थानीहरुले थुनेर माछा मार्न थालेपछि दुबैपक्षबीच विवाद सुरु भएको थियो ।

‘माछा त मार्ने नै भयो डुबान पनि हुने भएकाले त्यो विषयमा विवाद सुरु भएपछि पटेर्वाका वडाध्यक्षसहितको टोली त्यहाँ पुगेका थिए । विवादको क्रममा ढुंगामुढा लागेर वडाध्यक्ष घाइते भए,’ डीएसपी मिश्रले भने, ‘हाम्रो वडाध्यक्षलाई कुट्यो भनेर पटेर्वा गाउँका मानिसहरु उठेर आए । यता भगवानपुरका मानिसहरु पनि उठेर आएपछि दोहोरो झडप सुरु भयो ।’

विवादले उग्ररुप लिएपछि भगवानपुर बजारमा दुइतर्फी लाठी, भाटा र ढुंगामुढा प्रहार हुनथालेपछि प्रहरीले अवस्था साम्य पार्न हवाई फायर गरेको उनको भनाई छ ।

अहिले त्यहाँको अवस्था समान्य रहेको र घटना समबन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org