ताजा समाचार

चीनले सुरु गर्‍यो कोरोनाविरुद्धको आपतकालीन खोप

काठमाडौं । चीनले नोभेल कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको दाबी गरेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले जुलाई २२ मा चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताएका छन् ।

“हामीले आपतकालीन प्रयोगका लागि सुरक्षित र सुदृढ छ भन्‍ने यकिन गर्न श्रृंखलाबद्धरुपमा विभिन्‍न योजना प्याकेजहरू बनाएका छौं । जसमा मेडिकल स्वीकृति फारमहरू, साइड-इफेक्ट मोनिटरिंग, उद्धार, क्षतिपूर्ति रहेका छन्,” चिनियाँ कोरोना भाइरसविरुद्धको खोप विकास कार्यदलका प्रमुख चेङ चोङवेइले सीसीटीभीसँग भने ।

चिनियाँ खोप व्यवस्थापन कानुनअन्तर्गत उक्त खोपलाइ आपतकालीन प्रयोगका लागि अनुमति दिएको उनले बताए । उनले भने, “सीमित अवधिमा संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूमा अनुमोदन नभएका खोप प्रयोगका लागि अनुमति दिएका हौं ।”

फ्रन्टलाइनमा रहेका चिकित्सक र स्वास्थ्य कमर्चारी र निजामति कर्मचारीजस्ता विशेष समूहहरूको पहिचान गरेर खोप प्रयोगमा ल्याइएको चेङले बताएका छन् । उनले भने, ” यो कदम भनेको स्वास्थ्य संकट आउँदा पनि सामान्यरुपमा कार्य गर्न सक्छ भन्‍ने सुनिश्चित गर्न समूह पहिचान गरी खोप प्रयोगमा ल्याइएको हो ।”

यस्तो अनमुति अन्य मुलुकहरुले पनि दिने गरेको उदाहरण पेश गर्दै उनले भने, “आपतकालीन अवस्थामा उपचार गर्नुपर्ने भएमा र ज्यान लिने खालका गम्भीर रोगका लागि अमेरिकी खाद्य र औषधि प्रशासनले पनि यस्तो अनुमोदन नगरिएको औषधि प्रयोग गर्ने गरेको छ ।”

उनले आगामी जाडो महिनामा हुनसक्ने अर्को लहरको संक्रमणबाट जोगिन र नियन्त्रणमा लिन जोखिममा रहेका समूहलाई थप पहिचान गरी खोप लगाउने तयारी गरिरहेकोसमेत जानकारी दिएको चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले जनाएको छ ।

बेलायती सञ्‍चारमाध्यम दी गार्जियनका अनुसार चीनले जुलाई यो खोप लगाउन सुरु गरेको जनाएको छ । गार्जियनले भनेको छ, “क्लिनिकट ट्रायलको नतिजा नआउँदै कोरोनाविरुद्धको खोप सुरु गर्ने चीन पहिलो मुलुक हो । तर, कुन खोप प्रयोग गरिएको हो वा कति जनाले यसलाई प्राप्त गरेका छन् भन्‍ने भन्ने बारेमा कुनै विवरणहरू दिएका छैनन् ।”

यसअघि रुसले पनि कोरोना भाइरसविरुद्धको खोप विकास भएको दाबी गर्दै आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org