ताजा समाचार

नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । आज बस्ने सचिवालय बैठकले पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको थियो । सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।

पूर्वमाओवादी केन्द्रका नेताहरूले पनि स्थायी कमिटी बैठकलाई लामो समयसम्म अवरुद्ध राख्न नहुनेमा जोड दिएका छन् । यस विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ छ । “हामीले यथाशीघ्र स्थायी कमिटी बोलाएर छलफल गर्नुपर्छ भनेका छौं । स्थायी कमिटी बैठक लामो समयसम्म रोकेर राख्न मिल्दैन,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org