ताजा समाचार

इजरायलसँग कृषि र श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं। नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ।

समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका छन्। इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो। नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो।

विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो। राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिए। उनले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिए।

बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो। यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल-रेस्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org