ताजा समाचार

आईपीएलः दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

एजेन्सि । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौ जीत हात पारेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुवैले समान ५३ रन बनाए ।

यसैगरी इशान किशनले २८, कप्तान रोहित शर्मा ५ रनमा आउट हुँदा कुर्नाल पाण्डय १२ र काइरन पोलार्ड ११ रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए भने अक्षर पटेल, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाए भने कप्तान श्रेयस अय्यरले ४२ रन बनाए । यसैगरी अजिन्क्या रहाने १५, मार्कुस स्टोनिस १३ रनमा आउट भए भने एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीको पनि ७ खेलमा १० अंक रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org