ताजा समाचार

प्रधानमन्त्री ज्यू , संवैधानिक निकाय र नागरिकलाई नथर्काउनूहोस्ः शेखर कोइराला

काठमाडाैँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार निर्वाचन आयोगलाई सूर्य दिनुपर्ने बताएका थिए । त्यस्तै उनले शनिबार विराटनगरमा सर्वोच्च अदालतलाई संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले सूर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ । जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’

यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराएको भन्ने पुष्टि हुने पनि उनले बताए । आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको नेता कोइरालाको टिप्पणी छ ।

डा. कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको बताए । राष्ट्रपति र प्रधानमन्त्रीलाई केही भनेमा घरमै प्रहरी आउने कानुन निर्माणमा सरकार लागेको आरोप लगाउँदै कोइरालाले बोल्न पाउने अधिकार समाप्त पार्ने खेलमा सरकार लागेको बताए ।

आफूले थर्काएर नपुगेर साइबर सेनाको सहाराले नागरिकहरुलाई डराउने ,धम्क्याउने, तर्साउने काममा सरकार आफै लागेको कोइरालाको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org