ताजा समाचार

‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ’: मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडौँ । केही अन्योलताबीच नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार मुख्य प्रशिक्षक पाएको छ ।

उनी हुन्, कुवेतका अब्दुल्लाह अलमुताइरी । यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप उपाधि जिताए यता उनले निरन्तरता पाएनन् । अब ४० वर्षीय अल्मुटाइरी कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् ।

यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ । हामीले ४–३–३ शैलीमा खेल्नेछ र आक्रामक रहनेछ । मसँग जादुयी उपाय केही पनि छैन्, तर मैले कडा मिहिनेत गर्नेछु । मसँग खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ ।’

उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने अखिल नेपाल फुटबल संघ (एन्फा) को हुनेछ । उनले भने,‘म नेपालीका लागि आएको हुँ । म उनीहरूलाई खुसी दिन आएको हुँ । मेरो लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ । म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ । तर खेलाडीको प्रदर्शन भने राम्रो हुने वचन गर्छुं ।’ उनले नेपाली खेलाडीको स्तर राम्रो भएको पनि बताए ।

उनले थ्री नेसन्स कपको फाइनलमा नेपाली टिमले केही राम्रो देखाएको पनि दाबी गरे । उनले टिमको सम्भावित प्रदर्शनलाई लिएर भने, ‘सबै जिम्मेवारी मेरो हुने छ, खराव भए त्यो मेरो नै जिम्मेवारी हुनेछ, राम्रो भए सबैको हुनेछ ।’

अलमुताइरीले नेपालले साफ च्याम्पिनसिप जित्न आवश्यक रहेको र यसका लागि योग्य पनि भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org