ताजा समाचार

चुच्चे नक्सा नराखिएका पुस्तक जफत गरिने

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर विक्री गरिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक विक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषद्को आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

“तपाईंहरूले अनुगमन गर्नुस् । देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक विक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,” मन्त्री श्रेष्ठले भने ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक विक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिएका छन् । उनले भने, “यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र विक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने छौँ ।”

अधिकांश विक्रेताले  नेपालको पुरानो नक्सा उल्लेख गरी विक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक विक्री गरेका प्रकाशक र विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org