ताजा समाचार

पुटिनसँगको वार्ता सकारात्मक : बाइडेन

एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई देशबीच तनावपूर्ण सम्बन्ध भइरहेका बेला बुधबार जेनेभामा विश्वका दुई शक्तिशाली नेताबीच भेटवार्ता भएको हो ।

अमेरिकी समकक्षी पुटिनसँगको वार्तापछि पत्रकार सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले कुराकानी ‘निकै रचनात्मक’ भएको प्रतिक्रिया दिएका थिए । बाइडेनसँगको कुराकानीपछि रूस र अमेरिकाबीच ‘कहिल्यै शत्रुता नै नभएको’ जस्तो आफूलाई लागेको पनि उनको भनाइ थियो ।

त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले पनि पुटिनसँगको बैठक सकारात्मक भएको बताएका थिए । ‘मैले राष्ट्रपति पुटिनसँग मेरो एजेन्डा रूस वा अन्य कोहीविरुद्ध नभएको कुरा राखेँ । यो त अमेरिका र अमेरिकी नागरिकको पक्षमा रहेको छ,’ उनले भने ।

बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् । टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्रणाली र रूसको स्वास्थ्य प्रणालीमा भएको साइबर आक्रमणप्रति इसारा गर्दै पुटिनले दुवै देशका लागि ‘साइबर स्पेस’ असाधारण रूपले महत्त्वपूर्ण भएको बताए । रूसमा भएको आक्रमणबारे उनले भने, ‘मलाई लाग्दैन कि अमेरिकी प्रशासन यस कुरामा विशेष रूपले चासो राख्दछ । उ केवल आक्षेप मात्रै लगाइरहेको हुन्छ । हामीलाई विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ ।’

त्यस्तै उनले आर्कटिक क्षेत्रमा रूसी सैन्यीकरणलाई लिएर अमेरिकाले देखाएको चिन्ता पनि निराधार भएको बताए । परमाणु स्थिरताका बारेमा बाइडेनसँगको वार्तामा चर्चा भएको र आगामी दिनमा ‘न्यु स्टार्ट आर्म्स कन्ट्रोल’ सम्झौतामा परिवर्तन गर्ने कुरामा विचार गर्ने पनि पुटिनको भनाइ थियो ।

त्यस्तै भ्रष्टाचारको आरोपमा जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका बारेमा पनि निष्पक्ष रुपमा समाचार सम्प्रेषण नभएको पुटिनको भनाइ छ । उनले भने, ‘यिनलाई थाहा छ कि उनले रूसको वर्तमान कानुको उल्लंघन गरेका छन् ।’ पुटिनले अगाडि भने, ‘उनलाई थाहा छ कि उनी वान्टेड छन् तर पनि रूस फर्केर उनी गिरफ्तार हुन चाहेका थिए । उनले जे चाहेका थिए, त्यही गरे ।’

अमेरिकी राष्ट्रपति बाइडेनले भने नाभाल्नीलाई केही भए त्यसको परिणाम रूसले नै भोग्नुपर्ने चेतावनी दिएका छन् ।

त्यस्तै रूसी राष्ट्रपति पुटिनले बाइडेन डोनाल्ड ट्रम्पभन्दा धेरै फरक भएको भन्दै प्रशंसा गरेका छन् । उनले बाइडेनलाई ‘एक अनुभवी राजनेता’ को संज्ञा पनि दिएका छन् । साथै कुराकानीमा उनले दुवै देशले निष्कासन गरेका कूटनीतिज्ञलाई फिर्ता बोलाउने सहमति भएको पनि जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org