ताजा समाचार

साफ फुटबल नेपालमा आयोजन हुन्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्  ।

बालुवाटारमा आइतबार थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गरेपछि बोल्दै प्रधानमन्त्री ओलीले साफ फुटबल नेपालमा हुने बताएका हुन् ।

‘तपाईहरु जित्न चाहन्छु हुन्छ ? त्यसो भए साफ फुटबल नेपालमा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।

आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ ।

साफ यस वर्ष बंगलादेशमा हुने तय थियो । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको थियो । तर, आयोजक बंगलादेशले मुख्य तीन कारण देखाउँदै साफ आयोजनामा हात झिक्ने निर्णय गरेको छ ।

बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ ।

बंगलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ ।

साफ आयोजनाको दाबी प्रस्तुत गर्दै एन्फाले नेपाल सरकारसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ । सरकारबाट बजेट निकासा भएको खण्डमा थप साढे एक करोड रुपैयाँ प्रायोजक र प्रत्यक्ष प्रशारणबाट जुटाएर साफ सम्पन्न गर्ने एन्फाको लक्ष्य छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org