ताजा समाचार

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षा स्थगन गर्ने कि नगर्ने विषयमा छलफल हुने

काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेपछि आवश्यक निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो। बैठक बिहान ११ बजे बस्ने छ।

कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा परिरहेको बेला बोर्डले बैठक बसेर आवश्यक निर्णय गर्न लागेको हो।

वैशाखमा हुँदै आएको कक्षा १२ को परीक्षा गत वर्षदेखि नियमित हुन सकेको छैन। यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन्।

‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ’ शुक्रबार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

सरकारले सबै परीक्षा स्थगित गर्नुपर्ने बताइरहँदा शिक्षा क्षेत्रका जानकारहरुले भने आवश्यक स्वास्थ्य मापदण्ड र प्रविधिको प्रयाग गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org