ताजा समाचार

गगन थापाको प्रश्न : कक्षा १२ परीक्षा स्थगित, अन्य सञ्चालन गरिनुको आधार के हो ?

काठमाडौँ । पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले परीक्षा सञ्चालनमा सरकारले एकरुपता नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा भने नरोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’

स्वास्थ्य मन्त्रालयको सिफारिसमा शनिबार साउन ३१ गतेदेखि हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको थियो । सीसीएमसीमा सबैभन्दा बढी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गराउन जोडबल गरेका थिए ।

त्रिविले भदौ पहिलो सातामा तोकिएका परीक्षा सञ्चालन गर्ने प्रस्ट्याएको छ । स्वास्थ्य मन्त्रालयले भने सबै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो । परीक्षा बोर्डको बैठकले १२ को परीक्षा स्थगित गर्‍यो तर ११ को परीक्षाको विषयमा केही बोलेन । विद्यालयहरुमा पनि परीक्षा सञ्चालन भइरहेको छ । बोर्ड बैठकमा शिक्षा सचिव रामप्रसाद थपलियासहित शिक्षा मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी थिए ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका सांसद थापाले परीक्षाहरु रोकेर राख्न नहुने समेत बताएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले गराउनुपर्ने उनको धारणा छ । उनले परीक्षा स्थगित गरिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानार्कषण गराएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्न नसके वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गरिनुपर्ने उनको सुझाव छ ।

शिक्षा मन्त्रालयका अधिकारीहरुले परीक्षा स्थगित गर्दा शैक्षिकसत्र नै गुम्ने जोखिम रहेको औंल्याएका छन् । बाहिरको दबाबका कारण परीक्षा स्थगित गर्नुपरेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणकै कारण बोर्डले विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था मिलाएको थियो । स्थगित परीक्षा १५ दिनको सूचना दिएर पुन: संचालन गरिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org