ताजा समाचार

चन्द्रागिरि केवलकार सञ्चालनमा

'हामी पुर्ण रुपमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै सुरक्षित र मर्यादित तवरले सञ्चालन गरेका छाैँ': महाप्रबन्धक शाह

काठमाडाैँ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसके पनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’उनले भने।

१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन्। थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ। गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो। काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ।

मन्दिरको अलावा तीन तले भ्यू टावरसमेत बनाइएको छ। चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि ७०० रूपैयाँ  लाग्छ। चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org