ताजा समाचार

भारतको ७३औं गणतन्त्र दिवसको प्रमुख अतिथि प्रधानमन्त्री देउवा !

काठमाडौँ । भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ । भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ । सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ । यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो ।

भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाइल्यान्ड बिमस्टेकका सदस्य देश हुन् । सन् २०१८ मा भारतले आसियानका सरकार तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । भारतले आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राखेर गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउने गरेको छ ।

समारोहमा म्यानमारका सैनिक शासक जनरल मिन आङ ह्लाइङलाई पनि बोलाइनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत फेब्रुअरीमा कुमार्फत सत्ता हत्याएका जनरल मिनलाई विश्वका धेरै राष्ट्रले मान्यता दिएका छैनन् । यस्तो अवस्थामा मिनका लागि भारतीय नेतृत्वसँगको भेट महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थनका रूपमा लिन सकिने कूटनीतिज्ञहरू बताउँछन् ।

यसअघि सन २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा पनि बिमस्टेकका नेताहरुलाई अतिथिको रुपमा निम्त्याइएको थियो ।

नेपालबाट पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवनमा भएको सपथग्रहण समारोहमा सहभागी भएका थिए । सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई प्रमुख अतिथि बनाइएको थियो भने गत वर्ष कोरोना महामारीका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org