ताजा समाचार

थुनछेक बहसका लागि नवलपुर लगिए पल शाह

काठमाडाैँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ। तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए।

मंगलबार बिहान ७ बजे पछाडि कारागारको टोलीले उनलाई नवलपुर लगेको हो। नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ। ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरि तनहुँ कारागार ल्याइनेछ’, उनले भने।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे। उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ।आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ।’

क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन। ‘गोला थुतेर कसको इजालसमा पर्छ। त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने।

चैत ३ मा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए। जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो।

जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन्। उच्च अदालतले निवदेनउपर पहिलो सुनवाइ गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ। सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org