ताजा समाचार

‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न माग गरे ।

बलात्कारको आरोप लगाउने किशाेरीले नै आफुमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन् । तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उक्त आदेशपछि उनका शुभचिन्तकहरू आक्रोशित भएका हुन् ।

गायिकासमेत रहेकी ति नाबालिग किशाेरीले पलमाथि बलात्कार आरोप लगाउँदै नवलपुर र तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि छानविन गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतमा भएको थुनछेक बहसपछि हिरासतमा राख्दै थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्धमा पल उच्च अदालत पुगेका थिए । उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न दिन माग गरेका थिए । तर, उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै मुद्दाको चाँडो किनारा लगाउन र त्यतिबेलासम्म हिरासतमै राख्न आदेश दिएको थियो ।

पलको रिहाई लागि भन्दै उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । बलात्कारको आरोप लगाउने युवतीलाई अरूले प्रयोग गरेर उनलाई फसाउन खोजेको उनीहरूको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org