ताजा समाचार

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लिन्छन् नियमविपरीत सुविधा

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ ।

गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ ।

तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङ दुबै जनाले सवारी साधन प्रयोग गरे पनि प्रचलित ऐनविपरीत यातायात सुविधा लिने गरेका हुन् । नियमविपरीत यातायात सुविधा भन्दै गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्ष दुबैले मासिक १२ हजार रुपैँयाका दरले रकम बुझ्ने गरेका हुन् ।

अध्यक्षले ग १ झ ३७४ नम्बरको स्कारपिओ र उपाध्यक्षले बा २१ च ३६८६ नम्बरको बोलेर गाडी प्रयोग गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । उपाध्यक्ष गुरुङले प्रयोग गर्ने बोलेरो गाउँपालिकाले मासिक भाडामा लिएको हो । अध्यक्ष भट्टले प्रयोग गर्ने गाडी भने गाउँपालिकाले खरिद गरेको हो ।

नियमविपरीत यातायात सुविधा लिएको कुरा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले पनि औंल्याएको छ । ‘कार्यालयमा गाडी रहेको तथा आवश्यकताअनुसार नियमित रुपमा एक गाडी भाडामा समेत लिएको अवस्थामा यातायात सुविधा भनि रकम भुक्तानी दिनु नियमसम्मत देखिएन’, महालेखाको प्रतिवेदनमा लेखिएको छ ।

दोहोरो पर्नेगरी यातायात सुविधाबापत गाउँपालिकाले भुक्तानी दिएको दुई लाख ८५ हजार एक सय २० रुपैँया बेरुजु देखाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org