ताजा समाचार

राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको भन्दै एमालेले जनायो असन्तुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ ।

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई एमालेले विवादमा तान्ने प्रयासका रुपमा व्‍याख्या गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गरेका हुन् ।

‘संविधानको धारा ११४ ले अध्यादेश पुनरविचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन । तर, विधेयक राष्ट्रपतिले पुनरविचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ’ उनले भने ।

राष्ट्रपतिले आइतबार नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उक्त विधेयकमा राष्ट्रिय सहमति गर्न एमालेले आह्वान गरेको छ । प्रमुख सचेतक भट्टराईले नागरिकता विधेयकमा कित्ताकाट गरेर होइन‚ सबै राजनीतिक दल एक भएर वैवाहिक अंगीकृत नागरिकता पाउने समय सीमा ७ वर्षको राख्नका लागि तयार हुन आग्रह गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org