ताजा समाचार

डलर अर्बपति चौधरीले टिकट हत्याउन खोजेपछि काँग्रेसमा द्वन्द्व

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ बाट उद्योगपति विनोद चौधरीले दाबी गरेपछि नेपाली काँग्रेसभित्र आन्तरिक द्वन्द्व चर्किएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा काँग्रेसका विष्णुकुमार कार्की पराजित भएका थिए । अहिलेको निर्वाचनका लागि चार वर्ष कसरत गरेका कार्कीको ठाउँमा चौधरीले टिकट हत्याउन खोजेपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका छन् ।

नवलपरासीपूर्व प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का चौधरीले २ नम्बर क्षेत्रमा टिकट दाबी गरेका हुन् । आफ्नो क्षेत्रबाट कांग्रेस नेता डा. सशांक कोइरालाले ठाउँ नछाडेपछि क्षेत्र नम्बर २ मा टिकट हत्याउन अर्बपति चौधरी लागि परेको प्रदेशसभा कार्यसमिति–२ ख का सचिव सतिश राईले बताए । यसपटक पनि कार्कीलाई नै टिकट दिनुपर्ने स्थानीय काँग्रेस कार्यकर्ताको माग छ । उनीहरुले कार्कीलाई नै टिकट दिनुपर्ने माग गर्दै बालुवाटारदेखि चाक्सीबारीसम्म धाइरहेका छन् ।

काँग्रेस महासमिति सदस्य कार्की २०७४ सालको निर्वाचनमा झिनो मत अन्तरले एमालेसँग पराजित भएका थिए । नवलपुर २ बाट अघिल्लो निर्वाचनमा नेकपा एमालेका तिलबहादुर महत क्षेत्री (तिलक महत) ३९ हजार ५३ मत प्राप्त गरी विजयी हुँदा कार्कीले ३७ हजार ७ सय २० मत ल्याएका थिए ।

मतदातालाई मात्र होइन, जिल्लाका सक्रिय नेता कार्यकर्तालाई समेत नचिन्ने चौधरीले जित्न नसक्ने भन्दै उनीहरुले कार्कीलाई नै टिकट दिन पार्टी शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् । आफ्नो क्षेत्रमा पाइला नटेकेको चौधरी हावी हुन खोजेपछि स्थानीय नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।

काँग्रेस महासमिति सदस्य तथा जनजाती महासङ्घ केन्द्रीय अध्यक्ष ओमबहादुर थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष कार्कीलाई टिकट दिनुपर्ने एक सुत्रीय माग राख्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org