ताजा समाचार

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङ नसार्न माग

बुटवल । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ नसार्न नेपाली कांग्रेस रुपन्देहीले प्रदेश सरकारसँग माग गरेको छ । स्थायी संरचना नबन्दै काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा राजधानी नसार्न कांग्रेसले आग्रह गरेको हो । जबरजस्ती भालुबाङतिर राजधानी लैजाँदा प्रतिकूल असर पर्ने भएकाले सार्न हतार नगर्न माग गरिएको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणद्वारा आइतबार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

पूर्वाधारविना राजधानी सार्ने हतार गर्नुभन्दा पूर्वाधार निर्माणमा ध्यान दिन पनि विज्ञप्तिमा भनिएको छ । यस्तै नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन पनि आग्रह गरिएको छ । विज्ञप्तिमा राजधानीको विषय छोडेर प्रदेशका बासिन्दाको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्नेतिर केन्द्रित हुन कांग्रेसले आग्रह गरेको छ ।

अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org