ताजा समाचार

रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण राेकेन,आठौं प्रहार

मस्को । रुसले दुई महिनाको बीचमा युक्रेनका विभिन्न सहरमा आठौँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । यस्तै दक्षिणी ओडेसामा पनि विद्युत् कटौती भएको छ । आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ ।

पछिल्लो आक्रमण यसअघिका प्रहारभन्दा कम विध्वंसकारी भएको जनाइएको छ । रुसले प्रहार गरेका ७० क्षेप्यास्त्रमध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन् । जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन् । यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो, जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए ।

राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन् । रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो । इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मस्कोको दक्षिण/पूर्वमा पर्ने र्‍याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु भएको छ । सो आक्रमणमा छ जना घाइते भएको छन् ।

सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएका छन् । ती दुवै क्षेत्र युक्रेन सीमाभन्दा सयौँ किलोमिटर पर छन् ।  सरातोभ क्षेत्रको हवाई अखाडामा रुसका लामो दूरीका रणनीतिक बमवर्षक राखिएको ठानिएको छ ।

सरातोभ क्षेत्रको एन्जल हवाई अखाडामा गत साता सैन्य विमानका बढ्दो गतिविधि देखा परेका तस्बिरहरू सार्वजनिक भएको पृष्ठभूमिमा यी विस्फोटन भएका हुन् । उक्त क्षेत्रका गभर्नरले सुरक्षा फौजहरूले सैन्य बिन्दुहरूमा भएका ती घटनाको जाँच गरिरहेको बताएका छन्।

युक्रेनमाथि आशंका

कतै ती विस्फोटनका पछाडि युक्रेनको हात छ कि भन्ने आशंका रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ती भएका भनिएका घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको बताए ।
तेल कटौतीप्रति रुस आक्रोशित

यता, पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ । कटौती गर्ने कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा अलिकति पनि फरक नपर्ने क्रेम्लिनले बताएको छ । युरोपेली संघले आगामी दिनमा समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ ।

उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ । प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ ।-बीबीसी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org