ताजा समाचार

कोशी नामाकरण विवाद: जनधनको क्षतिको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गर्न एक समिति गठन गरेको छ । सरकारले शनिबार सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कोशी प्रदेशको नामाकरणका क्रममा आन्दोलन हुँदा पदम लिम्बूको निधन भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका कार्यक्रमले देशकै ध्यानाकर्षण गरेको जनाउनु भएको छ । नामाकरणलाई लिएर भइरहेको आन्दोलनका विषयमा सरकार संवेदनशील भएकाले आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न आन्दोलनरत पक्षसँग प्रधानमन्त्री दाहालले अपिल गरेको स्वकीय सचिव रमेश मल्लले सञ्चारमाध्यमहरुलाई जानकारी दिनु भएको छ ।

प्रदेश नामांकन संयुक्त संर्घष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार प्रधानमन्त्री दाहालले  बालुवाटारमा छलफल गरे । सो अवसरमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह उपस्थित थिए ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो । प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org