ताजा समाचार

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

पोखरा। गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आज मङ्गलवार दलहरूलाई आह्वान गर्नुभएको हो । नयाँ सरकार गठनका लागि दलहरूले वैशाख १४ गते बिहीवार दिउँसो ४ बजेसम्म जानकारी गराइसक्नुपर्ने प्रदेशका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएको हो । गएको शनिवार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org