ताजा समाचार

चाँडै प्रधानन्यायाधीशको चयन गर्न नेपाल बारको माग,आजदेखि दबाबका कार्यक्रम

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गरेको छ। एशोसिएसनकी महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गर्नु भएको हो ।

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगी न्यायपालिकाप्रति जनआस्था खस्किँदो अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । यस्तै देशभरिका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति हुन नसक्दा सेवाग्राहीले संविधानद्वारा प्रत्याभूत स्वच्छ न्याय पाउने हकबाट बञ्चित हुनुपरेको पनि खनालले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

अहिले सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । एशोसिसनले प्रधानन्यायाधीश नियुक्ति, न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न समेत माग गर्दै आज (आइतबार)देखि दबाबमूलक कार्यक्रम सञ्चालन गरिने महासचिव खनालले जानकारी दिनु भएको छ । खनालका अनुसार माग पूरा गर्नका लागि आजदेखि एक हप्तासम्म प्लेकार्ड र ब्यानरसहित संवैधानिक परिषद्का प्रमुख र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराइने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org