ताजा समाचार

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न

लन्डान । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक तथा राजमुकुट पहिरिने समारोह सम्पन्न भएको छ । लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ । उहाँले शपथलिँदै राजाका दायित्व पूरा गर्ने बताउनुभएको छ।

समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइएको छ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो।

समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण पनि गर्नुभएको छ । राजा बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो । राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल ठाउँ सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी छन् ।

राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको गएको सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षका चार्ल्सले राज्यारोहण गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org