ताजा समाचार

दोश्रो साक चेस च्याम्पियनसिप आजदेखि

२९ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले दक्षिण एसियाली बुद्धिचाल काउन्सिलसँग सहकार्य गरी आयोजना गर्न लागेको दोस्रो साक बुद्धिचाल च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ । ४ असारसम्म हुने प्रतियोगिताका खेलहरु काठमाडौंको गोदावरीस्थित होटल भ्यू भृकुटीमा हुनेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका र भुटानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा सम्पन्न भएको थियो ।

दक्षिण एशियाका प्रत्येक देशबाट १ महिला र १ पुरुष खेलाडी, साविक विजेता १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।

अफगानिस्तानले प्रतियोगितामा सहभागी नहुने जनाएपछि दक्षिण एसियाली बुद्धिचाल काउन्सिलको सहमतीमा उनीहरुको कोटामा पनि नेपाली खेलाडी नै समावेश गर्ने निर्णय लिएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले बताए ।

नेपालबाट पुरुषतर्फ बर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र सुरवीर लामा तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणका पुरुषतर्फका विजेता भारतीय इन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन इन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । ४० लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुषतर्फ उपाधि विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ उपाधि विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org