ताजा समाचार

 विमानस्थलबाट छ किलो चरेससहित जर्मनी नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

यसैबीच,काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताउनुभयो । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org