ताजा समाचार

अक्सफोर्ड र क्याम्ब्रिजलाई पछि पारे चिनियाँ विश्वविद्यालयले

काठमाडौं । चीनबाहिर थोरै चर्चामा रहेका विश्वविद्यालयले पश्चिममा ख्यातिप्राप्त विश्वविद्यालयलाई पछाडि पारेका छन् ।

नेचर जर्नलमा प्रकाशित सूचकांकका अनुसार उच्च गुणस्तरको वैज्ञानिक अनुसन्धानमा चिनियाँ विश्वविद्यालयले अक्सफोर्ड, क्याम्ब्रिज, प्रिन्सटन र क्यालटेकजस्तालाई पछि पारेको हो ।

एकेडेमिक जर्नल नेचरको नयाँ अद्यावधिक सूचीमा शीर्ष १० मध्ये सात चिनियाँ विश्वविद्यालय छन् ।

सन् २०२२ फेब्रुअरी १ देखि सन् २०२३ जनवरी ३१ सम्म प्रकाशित ‘उच्च गुणस्तरका अनुसन्धान लेख र सहकार्यका आधारमा’ सूचकांक तय गरिएको नेचर जर्नलमा उल्लेख छ । सूचकांकको प्रक्रिया सरल र पारदर्शी रहेको जर्नलको जिकिर छ ।

सूचीको पहिलो नम्बरमा चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस), दोस्रोमा हार्वर्ड विश्वविद्यालय, तेस्रोमा जर्मनीको म्याक्स प्लांक सोसाइटी, फ्रान्सेली नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च चौथो र पाँचौँमा चीनको विज्ञान र प्रविधि विश्वविद्यालय (यूएसटीसी) छ ।

छैटौँ नम्बरमा चिनियाँ विज्ञान एकेडेमी विश्वविद्यालय (यूसीएएस), सातौँमा चीनकै नान्जिङ विश्वविद्यालय (एनजेयू), आठौँमा पनि चीनकै पेकिङ विश्वविद्यालय (पीकेयू), नवौँ नम्बरमा समेत चीनकै सिङ्गुआ विश्वविद्यालय छ । दशौँ नम्बरमा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय छ ।

बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय क्रमशः १६औँ र १९औँ नम्बरमा छन् ।

चिनियाँ अनुसन्धानको स्तर बढ्नुमा विज्ञहरू स्वदेश फर्किनु र चीनकै संस्थानमा आबद्ध हुनुजस्ता कारण रहेको जनाइएको छ ।

चिनियाँ विश्वविद्यालयको अनुसन्धानको स्तर उल्लेखनीय रूपमा बढेको त्यहाँकै सियामेन विश्वविद्यालयका प्रोफेसर पेङ ली बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org