ताजा समाचार

वाग्नर समूहलाई देशभक्तकाे संज्ञा दिँदै पुटिनले घाेषणा गरे तीन अफर

काठमाडाैँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूह विद्रोहको धम्कीबाट पछि हटेपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन् ।

रुसी टेलिभिजनमार्फत गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र त्यसमा भाग लिने नेताहरूबारे धारणा राखेका छन् ।

विद्रोहको प्रयासमा संलग्न भाडाका लडाकु समूहका नेताहरूलाई कानुनी कठघरामा ल्याउने उनले बताए । गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै पुटिनले उनीहरूले रुसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए ।

पुटिनले यो विद्रोहकाे नेतृत्वकर्तालाई कानुनको कठघरामा ल्याएरै छोड्ने वाचा दाेहाेर्‍याए । यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको संज्ञा दिँदै उनीहरूलाई रुसी सेनामा भर्ती हुन अथवा बेलारुस वा आफ्नो घर फर्कन अनुमति दिइने घोषणा पनि गरेका छन् ।

पुटिनले भने, ‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन् । उनीहरूले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन् । युक्रेनसँगको युद्धमा ठूलो रक्तपातबाट बच्न मेरो निर्देशन थियो । जबकि पश्चिमाहरू र युक्रेनले रुसीहरू नै एक अर्कालाई मारुन् भन्ने चाहेका थिए ।’

आफ्नो सम्बोधनमा पुटिनले वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको नाम उच्चारण गरेनन् । पुटिनले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्न सफल भएको बताए । उनले रक्तपात नगरेकोमा वाग्नर समूहलाई धन्यवाद दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org