ताजा समाचार

आलेख: प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

काठमाडौँ। नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन भएपछि बजार विस्तार हुन थालेको हो । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो ।

सहर नजिकका चलचित्र भवनमा समेत सो समय हेरफेर गरेर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने गरिन्थ्यो । यद्यपि अहिले समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । यसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । चलचित्रको परिवर्तन र बढिरहेको बजारले खुशीसँगै चुनौतीसमेत थपेको छ । बढिरहेका दर्शकलाई बचाई राख्नु नै अहिले चलचित्रकर्मीको चुनौती बनेको छ । “सेल्युलोइड अर्थात प्रिन्टको समयमा काम र अनुभवका आधारमा गरिन्थ्यो । छायाङ्कन गरिएका दृश्यसमेत निर्देशकले हेर्न पाउँथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपथ्र्यो”, चलचित्र निर्देशक सुनील पाण्डेले भन्नुभयो ।

निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिएको बताउनुभयो । “अहिले जस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन् । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउनुहुन्थ्यो”, उहाँले भन्नुभयो । उहाँले प्रेम कथा, जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनेका बताउनुभयो ।

चलचित्रको आकर्षण ग्रामीण भेगमा बढी रहेको निर्माता एवम् निर्देशक अशोक शर्माले बताउनुभयो । निर्माता शर्माले चलचित्र भवन भ्रमण गर्दा दर्शकमा चलचित्रप्रतिको मायालाई अनुभव गर्नुभएको छ । उहाँले निर्माण गर्नुभएको ‘ट्रक ड्राइभर’ २०५० चैतमा प्रदर्शन भइरहेको थियो । “म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिए । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे”, निर्माता शर्माले स्मरण गर्नुभयो । बेहोस् भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न हलभित्र पस्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

“दर्शक हलमा पुगेपछि चलचित्र नसकिदासम्म घर जाँदैनथे”, उहाँले भन्नुभयो, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई भूमिका दिने चलन थियो । हामी हलमा चलचित्र चलेको ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं ।” अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ बाट भएको हो ।

डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश ग¥यो । डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनु पर्ने बाध्यता हट्यो ।

एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहजता दियो । त्यही कारण काठमाडौंमा प्रदर्शनका निमित पालो पर्खिएका चलचित्रको लाइन घट्यो । यसको श्रेय निर्माता अशोक शर्मालाई जान्छ । उहाँले सन् २००७ मा डिजिटल सिनेमा नेपालको सुरुआत प्रदर्शक, वितरक र निर्माताहरूको समुह बनाएर गर्नुभयो । “नेपाली चलचित्रलाई सहरिया क्षेत्रमा हेरिने दृष्टिकोणसँगै स्तरीय प्रदर्शनीका लागि डिजिटल प्रविधि आवश्यक थियो । भारतीय प्रविधि युएफओ सर्भरसँग सहकार्य गरेर सुरु गरेका हौँ”, निर्माता शर्माले भन्नुभयो ।

प्रविधिकै सहायताको कारण अहिले विश्वभर एकसाथ चलचित्रको प्रदर्शन सम्भव भएको हो । “विश्वमै नेपाल नै पूर्णतया डिजिटल प्रविधिमा निर्माणदेखि प्रदर्शनसम्म हुने पहिलो देश हो । हामी सानो भएकाले यसबारे खासै चर्चा हुँदैन”, उहाँले भन्नुभयो । मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका प्रिन्ट काठमाडौँमा प्रदर्शन हुँदा प्रिन्ट कोरिएको, प्वाल परेको, टाँसिएको लगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन् ।

प्रदर्शन हुने प्रविधि र प्रिन्टको गुणस्तरले गर्दा एकल पर्दा भएका केही चलचित्र भवनमा स्पष्ट र सफासमेत देखिंदैनथ्यो । डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको उहाँको भनाइ थियो । नेपालमा युएफओ र क्युब डिजिटलको सर्भरले अहिले विश्वभर डिजिटल सिनेमा इनिसेटिभ ९डिसिआई० ढाँचामा चलचित्र प्रदर्शन गरिरहेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा इनकोडिङ हुन्छ । उहाँले ‘महापुरुष’, ‘छक्का पञ्जा ४’ र ‘जारी’ चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन गरेको जानकारी दिनुभयो । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पु¥याउने झन्झट पनि हटाएको उहाँको भनाइ थियो ।

प्रिन्टबाट छुट्कारा पाएका निर्माता डिजिटल प्रविधिको विकासपछि पनि इन्कोडिङ गर्न भारत जानु पथ्र्यो । डिसीआई अगाडि डिसीएन र क्युबको लागि छुटै इन्कोडिङ गर्नुपथ्र्यो । यद्यपि अहिले प्रविधिले सहजता दिएको छ । एउटा सर्भरमा इन्कोडिङ गरे विश्वभर चलचित्र प्रदर्शन गर्न पाइन्छ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताउनुभयो । व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका भन्दा महँगो पर्ने उहाँले जानकारी दिनुभयो ।
“बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उहाँले भन्नुभयो । ‘प्रेम गीत ३’,‘महापुरुष’,‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको प्रदर्शक सुवेदीले बताउनुभयो ।

निर्देशक रामबाबु गुरुङले आफूले निर्माण हुने आगामी दुई चलचित्रको विदेश प्रदर्शन अधिकार लगभग विक्री भइसकेको जानकारी दिनुभयो । “हाम्रो पछिल्लो चलचित्रले गरेको व्यापारकै आधारमा हुन सक्छ । विदेशमा हाम्रो व्यानरबाट बन्ने चलचित्रको माग रहेको बुझिएको छ । नेपाली चलचित्रले बजार विस्तारसँगै कला र संस्कृतिलाई पनि प्रवाशी नेपाली समक्ष पु¥याइरहेको छ”, निर्देशक गुरुङले भन्नुभयो ।

विदेशमा नेपाली चलचित्रको बजार बढेको सन्दर्भ जति तारिफयोग्य छ, त्यति नै नेपालमै बजार विस्तार नहुनु दुखद छ । अहिले पनि तराईमा नेपाली चलचित्रको बजार राम्रो छैन । वीरगञ्ज, मलङ्गवा, जनकपुरलगायतका बजारबाट भोजपुरी र हिन्दी भाषाको विदेशी चलचित्रले गर्ने व्यापारको तुलनामा नेपालीको न्यून छ । उक्त स्थानमा नेपाली चलचित्र प्रदर्शन हुनु नै अझैँ ठूलो विषय बनिरहेको छ । बजार विस्तारका लागि विदेशसम्म पुगेर गरिने प्रवद्र्धनात्मक कार्यक्रम ती स्थानमा गर्न सके घरेलु बजारको आकार बढ्ने निश्चित छ । (स्रोत रासस)

-स्रोत रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org