ताजा समाचार

एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड

काठमाडौं । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुुसेनलाई मृत्युदण्ड दिएको छ ।

कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गतवर्षदेखि पुनः थालिएको छ । यो वर्ष कार्यान्वयन गरिएको यो चौधौँ कठोर सजाय हो । पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई चङ्गी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागू औषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ ।

अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)र एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न गरेको आग्रहको बेवास्ता गर्दै उनको प्राण हरण गरिएको हो । राष्ट्रपतिसमक्ष गरिएको क्षमा याचनाको अपील पनि अस्वीकार भएको थियो ।

यसैगरी, तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ । सन् २०१८ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ ।

कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org