ताजा समाचार

व्यासमा खरको छानो विस्थापित अभियान

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो ।

उहाँको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ । व्यास नगरपालिकाको खरको छानो विस्थापन योजनाअनुसार छानो फेरिएको हो । उहाँले भन्नुभयो,’अब आगलागी हुने जोखिम र पानी चुहिने समस्या हुँदैन ।’

नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस्तापाताले घर छाउन नसकेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिनुभयो ।

रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारमा छानो फेरिदिएको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जसअन्तर्गत व्यास–१ मा सात, व्यास–४ मा एक, व्यास–७ मा सात, व्यास–८ मा तीन, व्यास–९ मा चार, व्यास–१० मा १७, व्यास–११ मा तीन, व्यास–१२ मा छ, व्यास–१३ मा तीन र व्यास–१४ मा आठ घरमा जस्तापाता लगाएको छ ।

यसैगरी, नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गरिदिन थालेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै विपन्न वर्गलाई नक्सा पास निःशुल्क गर्ने कामको सुरुआत गरेको हो । विपन्न वर्गलाई केही सहज बनाउन र पक्की घर बनाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो ।

निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म उक्त कार्यक्रममार्फत पाँच जनाले निःशुल्करूपमा घरको नक्सापास गरी घर निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरूले चाहेको अनुसार नक्सा निःशुल्करूपमा बनाउने गरेका छौँ ।’ दुई, तीन र चारकोठे घरका लागि विभिन्न आठवटा ‘मोडल’ रहेको उहाँले बताउनुभयो ।

कतिपय नागरिकहरूले नक्सा बनाउन खर्च धेरै भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिदिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले विभिन्न परामर्शदाताले महँगो शुल्कमा घरको ‘डिजाइन’ बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताउनुभयो । नगरपालिकाका घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि प्राविधिकलाई खटाएको बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org