ताजा समाचार

टेलिकम कम्पनीहरूमा हुने राजस्व छली रोक्दै आम्दानी बढाउने गतिलो माध्यम ‘टेरामोक्स’ प्रविधिः दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्यूनिकेशन ट्राफिक मनिटरीङ एन्ड फ्रड कन्ट्र्रोल सिस्टम (टेरामोक्स) प्रविधि सञ्चालन गर्ने भएको छ। पछिल्लो समय टेलिकम कम्पनीहरूको ग्राहक बढेपनि आम्दानी घटेको र यसबाट राज्यको राजस्वमा क्षति पुगेको विश्लेषण गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले ट्राफिक मनिटरीङका लागि टेरामोक्स प्रणाली ल्याउन लागेको हो ।

विशेषगरी अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा अपचलन भइरहेको हुनसक्ने र पछिल्लो समयका कर बाइपासका घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउनका लागि यो प्रणाली राख्न खोजिएको प्राधिकरणले जानकारी दिएको छ । स्पष्ट कानूनी व्यवस्थाबिनै आफ्ना ग्राहकको कल तथा म्यासेजमै पहुँच राख्नसक्ने प्रणाली जडान नगर्ने नेपाल टेलिकमको अडानपछि नेपाल दूरसञ्चार प्राधिकरणले थप प्रष्टीकरण पनि दिएको हो ।

दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण, न्यूनीकरण गर्न तथा सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर जाँच गरी दूरसञ्चार ऐन २०५३ को दफा १३ ६ अनुसार दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाइ दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न नियमनका लागि टेरामोक्स प्रविधिको स्थापना गर्न लागेको एक सूचना प्रकाशित गर्दे प्राधिकरणले प्रष्ट पारेको छ ।

दूरसञ्चार ऐन २०५३ को दफा १७ अनुसार नियमनकारी निकायले विवरण लिने, अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दूरसञ्चार कम्पनीहरुको घट्दो राजस्वको कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा भीओआईपी जस्ता आपराधिक क्रियाकलापहरु रोक्न पहिचान गर्ने कार्यमा यस प्रणालीले सहयोग गर्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणले टेरामोक्स प्रविधि जडानका लागि सात दिनको अल्टिमेटम समेत दिएको थियो। तर उक्त समयमा नेपाल टेलिकमले कुनै चासो दिएको थिएन। टेलिकमले चासो नदिएपछि सहजीकरण बन्द गरिएको घोषणा प्राधिकरणले गरेको थियो । जतिसुकै नियामकीय कारबाहीको कुरा गरेपनि सर्वोच्च अदालतको आदेशमात्र नभइ कुनै पनि तेस्रो पक्षलाई ग्राहकको डिटेल सूचनामा पहुँच दिन नसकिने टेलिकमले अडान लिएको थियो। सरकारी स्वामित्वको टेलिकमले अडान लिएपछि प्राधिकरणले उठेका प्रश्नमा थप जवाफ दिएको छ।

दूरसञ्चार सेवा कम्पनीहरुको वार्षिक आय घटिरहेको, कम्पनीहरुको नेटवर्कको विस्तार र ग्राहक संख्यामा वृद्धि हुँदै गर्दा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटकपटक कम्पनीहरुको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्बन्धमा विभिन्न क्षेत्रहरुबाट प्रश्न उठिरहेको र प्राधिकरणको तर्फबाट गुणस्तरण एकिन गर्न नमुना ड्राइभ टेस्ट गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको जनाइएको छ । यस अवस्थामा ग्राहकको सेवा पाउने अधिकार तथा नेपाल सरकारले गुमाइरहेको अरबौंको राजस्वको रोकथाम गर्नुका साथै भविष्यमा राज्यले अपनाउनु पर्ने नीति नियमको तर्जुमा गर्नका लागि पनि टेरामोक्स प्रणाली जडान गर्न लागिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

मोबाइल अपरेटर्स तथा को कल बाइपासका सम्बन्धमा पनि प्राधिकरणले यर्थाथ तथ्य सार्वजनिक गरेको छ । जसअनुसार मोबाइल अपरेटरको आम्दानी निरन्तर घटिरहेका सम्बन्धमा आर्थिक वर्ष २०७४ /७५मा जम्मा कारोबार रकम ९८ दशमलव ६८ अर्ब रुपैयाँ देखिएको छ । यस्तै आर्थिक वर्ष २०७५/ ७६मा ग्राहकको संख्या १ दशमलव ४५ करोड र जम्मा कारोबार ९२ दशलव १२ अर्ब, आर्थिक वर्ष २०७६ /७७ मा ग्राहकको संख्या १ दशमलव ९४ करोड र जम्मा कारोबार ८१ दशमलब १५ अर्बको छ । यस्तै आव २०७७ /७८मा ग्राहककोे संख्या २ दशमलव ८४ करोड र जम्मा कारोबार ७५ दशमलव ७१ अर्ब र आव २०७८/७९ मा ग्राहकको संख्या २ दशमलब ७१ करोड र जम्मा कारोबार रकम ७७ दशमलव ०५ अर्ब देखिएको छ ।

२०७४ ७५ को आम्दानीको तुलनामा २०७८/७९मा करिब २१ अर्ब वार्षिक रुपमा कमी हुन आएको छ । के कति कारणले आम्दानीमा कमी हुन आएको भन्ने सत्यतथ्य पत्ता लगाउन टेरामोक्स प्रविधिको जडान गर्न अति नै आवश्यक देखिएको टेलिकमको ठहर छ । यसैगरी २०६८ देखि २०७६ सम्मको सीआईबीको तथ्यांक विवरणअनुसार कल बाइपासबाट १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमेको देखिएको छ । सीआईबीको पहुँच बाहिरको रिभिन्यूको कुनै हिसावकिताब नैं हुन सकेको छैन । अतः यस्तो अवस्थामा पनि यो प्रणाली जडान गर्न अति आवश्यक भएको जनाइएको छ ।

टेरामोक्स प्रविधि कस्तो हो ?

टेरामोक्स प्रविधि पूर्ण विकसित दूरसञ्चार क्षेत्रमा हुने फ्रडुलेन्ट एक्टिभिटिज, भोइस तथा डाटा सर्भिसेजको गुणस्तर मापन, अनुगमन र भोइस तथा डाटाको टोटल भोल्यूम परीक्षण गर्ने प्रविधि हो । यस परियोजनाको मुख्य उद्देश्य भोइस तथा डाटा सेवाको (क्यूओई र क्यूओएस) गुणस्तर वृद्धि गरि ग्राहकलाई अधिकतम स्तरीय सेवा प्रदान गरी प्रतिप्रयोगकर्ता औषत राजस्वलाई सुधार गरेर टेलिकमको राजस्व सुधार गर्न मद्धत गर्ने हो । यसले अपरेटरहरुद्वारा सुनिश्चित गरिएको ट्राफिक भोल्यूम सही र पूर्णरुपमा भए नभएको सुनिश्चित गर्दछ । यसले फ्रडुलेन्ट एक्टिभिटिज ( कल बाइबास) बाट हुने गरेको करोडौं रुपैयाँ राजस्व चुहावटलाई रोकेर समग्रमा सरकारी राजस्व उठाउन मद्धत गर्दछ ।

टेरामोक्स प्रविधिका मुख्य विशेषताहरु: 

ट्राफिक मापन र निगरानी प्रणाली (टीएमस) अन्तर्गत अपरेटरले डिक्लियर गरिएको भोल्युम ठीक छ छैन परीक्षण गर्ने, अपरेटरले गर्नसक्ने अन डिक्लियर, अन्डर डिक्लियरिंग भोल्यूमलाई पूर्णरुपमा नियन्त्रण गर्ने, (ईटीएसआई) युरोपियन टेलिकम्युनिकेशन स्टान्डर्ड इन्स्टिच्यूट तथा (आइटीयू) इन्टर नेशनल टेलि कम्यूनिकेशन युनियनले निधारर्ण गरेको क्वालिटी अफ सर्भिस अपरेटले उपभोक्तालाई दिएको नदिएको निर्धारण गर्ने ।

नेटवर्क मनिटरीङ सिस्टम (एनएमएस) अन्तर्गत प्रोविङ इक्विपमेन्ट अपरेटर साइडको साइडको साइटमा इन्स्टल गरी अपरेटरको ट्रान्समिसन लिंक लगायतका अत्यावश्यक नेटवर्किग इक्विपमेन्टको मोनिटरिंङ गर्नु हो । जसले गर्दा उपभोक्ताले पाउनुपर्ने सेवासुविधा तथा समयसमयमा अपरेटरले तोके बमोजिमले मर्मतसम्भार गर्नुपर्नेमा गरे नगरेको मोनिटरिंङ गर्नु हो ।

फ्रड म्यानेजमेन्ट सिस्टम (एफएमएस)  पनि यो परियोजनाको अत्यन्त महत्वपूर्ण कम्पोनेन्ट हो । जसले टेलिकम्युनिकेशन इन्डस्ट्रिजमा फ्रडुलेन्ट क्रियाकलापलाई रोकेर अपरेटर तथा नेपाल सरकारको राजस्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । टेलिकम्यूनिकेशनमा हुने विभिन्नखालका फ्रड एक्टिभिटिज (बाइपास फ्रड, इन्टरनेशनल टु नेशनल ट्राफिक रिफिलिङ , फल्स एन्सर सुपर भिजन, ओटीटी बाइबास फ्रड, कल स्पुफिङ , वानगिरि एट्याक्स, पीबीएक्स ट्याकिङ , रोबो कल्स, रोमिङ फ्रड, सस्क्राइबर फ्रड, सीम कोलिङ , आइआरएसएफ फ्रड, अपरेटर इन्टरनल फ्रड) हरुले टेलिकम क्षेत्रको राजस्वमा सिधा प्रभाव पारी अरेपरेटर, उपभोक्ता नेपाल सरकारले पनि करोडौंको राजस्व गुमाइरहेको अवस्थामा यस प्रविधिले उक्त वित्तीय अपराधलाई रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।

मोबाइल अपरेटरको आशंका के हो ?

ग्राहकको गोपनीयता तथा भोइस कल ट्यापिंङ हुनसक्ने आशंका गरिएको छ । प्रोविङ हार्डवेयर फर्मवेयर र प्रोविङ एनालाइजर सफ्टवेयर नियामक निकाय एनटीएको आवश्यकताअनुसार डिजाइन गरिएको हो । एनटीएको प्रोविङ सोलुशन भ्वाइस मिडिया फाइलहरुमा एसएमएस भ्वाइस कल वा एसएमएस कन्टेन्टमा कुनै अन्तरदृष्टिविना भ्वाइस तथा एसएमएसको सीडीआर मात्र संकलन गर्न डिजाइन गरिएको हो । यसको मतलव यो हो कि टेरामोक्स ट्रस प्रविधिसँग मोबाइल अपरेटरका मिडिया फाइलमा कुनै पनि पहुँच नहुने हुँदा र कुनै आवाज रेकर्डिंङ वा एसएमएस पढ्न सम्भव छैन । मिडिया प्याकेटहरु आरटीपी प्रोटोकलसँग ट्याग गरिएका हुन्छन् । मोबाइल अपरेटरहरुले तिनीहरुले सिग्नल ट्राफिकमा के पठाउँछन् भन्ने कुरा नियन्त्रण गर्नसक्छन् । यो कुरा विभिन्न मोबाइल अपरेटरका विशेषताहरुले पुष्टि गरिसकेको छ । ट्राफिकलाई कुनै पनि किसिमले विश्लेषण गर्न नसकिने हुँदा अहिले गर्न लागिएको फर्मवेयर तथा प्रोटोकल एनालाइजर सफ्टवेयर पनि आरएफटी ट्राफिक कन्टेन्टलाई एनालाइजर भित्रका कुराहरु भ्वाइस कल तथा एसएमएस कन्टेन्ट पढ्न सक्दैन ।

टेलिकम अपरेटरको डाटा प्राइवेसीलगायत आफ्ना सरोकारका विषयलाई विभिन्न उपाय अपाउन सकिन्छ :

कन्ट्राक्चुअल एग्रिमेन्ट : मोबाइल अपरेटरहरुले आफ्नो ग्राहकको डाटा प्राइवेसीलगायत आफ्नो सरोकारलाई राखेर एनटीएसँग कन्ट्राक्चुअल एग्रिमेन्ट कानुनी सम्झौता पनि गर्न सक्छन् ।

रेगुलर एडिटः एनटीएसँगको कानुनी समझौताअनुसार भए नभएको अपरेटरले थर्ड पार्टी सिस्टम अडिटर प्रयोग गरेर सम्झौताअनुसारको डाटा प्राइवेसी, ट्रान्समिसन, लिंकलगायतका विषयमा अडिट गर्नसक्छ ।

डाटा इन्स्क्रिप्शनः टेलिकम अपरेटरहरुलाई यस टेरामोक्स प्रविधिले ग्राहकको गोपनियतालगायत अरुको अनाधिकृत पहुँच हुन्छ भन्ने लागेमा एनटीएलाई उपलब्ध गराउने डाटालाई इन्क्रिप्टेड गर्नसक्छ । यसबाट ग्राहकको विवरण वा टेलिकम अपरेटरले दिन नचाहेको सूचना प्रवाह हुँदैन । यस प्रोजेक्टको उद्देश्य ग्राहकको कल ट्यापिंग गर्ने, ग्राहकको एसएमएस कन्टेन्ट हेर्ने नभइ राज्यको अरबौको आम्दानी किन घट्यो, मोबाइल अपरेटरले कन्जुमरलाई बाचा गरेअनुरुपको गुणस्तरीय सेवा दिएका छन् कि छैनन्, मोबाइल अपरेटर नाफामुखी मात्रै भएर कम गुणस्तरीय सेवा दिइ उच्च गुणस्तर बराबरको मूल्य लिईरहेका छन् /छैनन् भन्ने सुनिश्चित  गर्नु हो ।

टेरामोक्स प्रविधिले के गर्छ ?

अपरेटरले डिक्लियर गरेको राष्ट्रिय अन्तराष्ट्रिय भ्वाइस कल र एसएमएसको टोटल भोल्यूम ठिक भए नभएको परीक्षण गर्छ । अपरेटरले गर्नसक्ने अनडिक्लियर तथा अन्डर डिक्लियरिङ कल र एसएमएस भोल्यूमको पूर्णरुपमा नियन्त्रण गर्छ । ईटीएसआई युरोपियन टेलिकम्युनिकेशन स्टान्डर्ड इन्स्टिच्युट तथा आईटीयू इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनले निर्धारण गरेको क्वालिटी अफ सर्भिस अपरेटरले उपभोक्तालाई दिए नदिएको निर्धारण गर्छ । अपरेटरको नेटवर्क ठिक भए नभएको र रेगुलेटरको गाइडलाइनअनुसार भए नभएको परीक्षण गर्छ । अपरेटर्स तथा भीओआईपी कल बाइपासलगायतका फ्रडुलेन्ट एक्टिभिटिजबाट हुने अरबौको क्षतिलाई न्यूनीकरण गरी सरकारको राजस्व बढाउन उल्लेखनीय मद्धत गर्छ । टेलिकम प्राधिकरणले भविष्यमा अवलम्बन गर्ने नीति नियमका लागि मार्ग दर्शन पनि गर्छ ।

टेरामोक्स प्रविधिले के गर्दैन ?

यसले कुनै पनि ग्राहकको भ्वाइस ट्यापिंग गर्दैन । यसैगरी कुनै पनि ग्राहकको एसएमएस सामग्री हेर्न नसक्नुका साथै यस प्रविधिले रिसिभ गर्ने भ्वाइस तथा एसएमएसको सिग्नलमा आरटीपी प्रोटोकल ट्याग गरिएको हुँदा एसएमएसको कन्टेन्ट हेर्न सक्दैन । यस्तै अपरेटरको मिडिया फाइल एक्सेस नगर्ने हुँदा भ्वाइस ट्यापिंग हुन सक्दैन । यस्तै यस प्रविधिले मोबाइल नेटवर्क अपरेटरको सिस्टमको पर्फमेन्स पनि घटाउँदैन । यस्तै मोबाइल अपरेटरको नेटवर्कमा सेक्यूरिटी थ्रेट सिर्जना गर्ने काम पनि गर्दैन किनकि सेक्युर भीपीएन टनेलबाट मात्र अपरेटरको नेतवर्कसँग कनेक्टेड हुन्छ । एनटीएको आधिकारिक व्यक्तिबाहेक सिस्टम एक्सेस गर्न पाउँदैन । ग्राहकको व्यक्तिगत डाटामा टेरामोक्स प्रविधिको पहुँच नहुने हुँदा व्यक्तिको गोपनीयतामा कुनै आच आउँदैन । टीईआरएएमओसीएस प्रणालीका लागि प्राइमरी डाटा सेन्टर प्राधिकरणको चावहिलस्थित भवन र डिजास्टर रिकोभरी सेन्टर नेपाल सरकारको हेटौडास्थित डीआरसीमा हुने भएकाले कुनै विवरण वा सूचना विदेशिने हुँदैन ।

टेलिकम अपरेटरको ग्राहक संख्या बढ्दै जाने, भ्वाइस डाटाको संख्या बढ्दै जाने तथा सेवाको पनि विस्तार हुँदै जाने हुन्छ । तर विगत वर्षको तुलनामा वार्षिकरुपमा २० औं अर्बभन्दा बढी टेलिकम अपरेटरको रिभिन्यू घट्नुको यथार्थ चित्रण गर्न साथै कल बाइपासबाट राज्यलाई अरबौंको क्षति भइरहेको छ । यस अवस्थामा यसको जड पत्ता लगाई न्यूनीकरण गर्न दूरदराजका टेलिकम अपरेटरका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौसम्म टेलिकम अपरेटरले बिग्रिएका सेवा सुचारु नगर्ने, बेलाबेलामा टेलिकमको बिलिङ सिस्टममा वास्तविक वा कृतिम समस्या आउनु वा समयमै बिलिङ सिस्टम परिवर्तन वा अपग्रेड नगर्दा अन्डर बिलिङको समस्या हुने गर्छ । यस अवस्थामा राजस्वको घाटा पत्ता लगाउन र यसको जानकारी नियामक निकायलाई उपलब्ध नगराइने लगायतका वेथिति विसंगतीहरुलाई नियमन गर्नका लागि टेरामोक्स प्रविधि जडान गर्न लागिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org