ताजा समाचार

नेपली क्रिकेट टोली पाकिस्तान प्रस्थान गर्दैः सन्दीप लामिछाने भने नजाने

काठमाडौं । आज राती नेपाली क्रिकेट टोली एसिया कप प्रतियोगितामा सहभागी हुन पाकिस्तान प्रस्थान गर्ने भएको छ। नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गरेको छ। १६औं संस्करणको एसिया कप अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन गइरहेको।

नेपाल क्रिकेट संघ क्यान ले गत सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको थियो।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।जसमा सन्दीप लामिछाने अदालति प्रक्रियाका कारण आज पाकिस्तान नजाने भएका छन् ।

प्रतियोगिताको अन्तिम तयारीमा रहेको नेपाली टोलीका कप्तान रोहित पौडेल एसिया कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । बलिया टेस्ट राष्ट्रहरुको सहभागिता रहने भएकाले एसिया कपका लागि नेपाली टोलीले राम्रो तयारी गरेको समेत उनले दाबी गरेका छन्।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरुसहित ६ टोलीको सहभागिता जनाउने छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा छ । उक्त समूहमा दुई बलिया राष्ट्र भारत र पाकिस्तान पनि छन् ।

भारत र पाकिस्तान दुबै एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । यसपटक ५० ओभरमा खेलाइने एसिया कपका लागि टेस्ट राष्ट्रहरुले पनि आफ्नो सिनियर टोलीलाई नै पठाएको छ । ‘प्रतिद्वन्द्वी जति बलियो भए पनि हामीले आफ्नो खेल खेल्ने हो । प्रतियोगितामा हामी बेष्ट क्रिकेट खेल्नेछौं । यसमा हामी विश्वस्त छौँ । एसिया कपको मैदानमा विश्वले हाम्रो खेललाई नियाली रहेको हुनेछ भन्ने कुरा हामीले राम्ररी बुझेका छौँ,’ कप्तान पौडेल भन्छन् ।

आगामी एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच हुनेछ। उक्त खेल पाकिस्तानको मुल्तान रङगसालामा खेलिने छ । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । उक्त खेल श्रीलंकाको केन्डी रङगसालामा  खेलिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org