ताजा समाचार

दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने सरकारको तयारी

काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी थालेको छ ।
यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ ।

अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा टिकट काट्ने यात्रुको भिड हुन्छ । । तर, तपाईं प्रविधिमा अभ्यस्त हुनुहुन्छ भने अब टिकट काट्न बसपार्क नगई मोबाईल बाटै टिकट बुकिङ गर्न सकिन्छ ।

अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।

नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको छ ।

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको छ । सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने उनले बताएका छन् ।

अनलाईन टिकट बुकिङ गर्न ई–सेवा, खल्ती, फोन–पे, आईएमई–पे, माइ–मे, कनेक्ट आईपीएससहितका भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको छ । ती माध्यमबाट यात्रुले बसको टिकट पैसा तिर्न सक्ने उनको भनाई छ ।

दैनिक दुईतर्फी ३५ हजार सिट अनलाइनमा उपलब्ध हुने समेत सीईओ खनालले बताएका छन् ।

उनका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । अनलाइनबाट टिकट बुक गर्दा यात्रु स्वयंले सिट हेरेर छान्न पाउने भएकाले सिट फरक पर्ने सम्भावना नहुने खनालले बताए ।

‘अनलाइनबाट सिट बुक गर्दा उपलब्ध सिट मात्र बुकिङ गर्न मिल्छ,’ उनले भने । यसले चाडबाडको समयमा यात्रु र बस स्टाफबीच हुने लफडा कम गर्न समेत सहयोग गर्ने खनालको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org