ताजा समाचार

पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६–५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।

त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनल खेलमा आजै साँझ ५.३० बजे हुने नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org