ताजा समाचार

लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जिते

पोखरा । यसपालिको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । ६९ प्रतिस्पर्धीलाई पछि पार्दै ११ औँ संस्करणको उपाधि गजेन्द्रले उचालेका हुन् । निर्धारित १३।५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरे । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गरे । उनले नगद १ लाख पुरस्कार र श्रीपेच पाएका छन् ।

दौडमा आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र साबिक विजेता अनीश थापा तेस्रो बने । रावतले ५६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका हुन् भने थापाले ५८ मिनेट ३५ सेकेन्डमा पार गरे । लिगलिग विकास समाजले हरेक वर्ष लिगलिगे दौडको आयोजना गर्छ । दौडेर राजा हुने प्रचलन यहीँबाट सुरु भएको थियो । सोही परम्परालाई कायम राख्न अहिले प्रतिस्पर्धा आयोजना गरिएको हो । कोरोना कालमा ३ वर्ष भने प्रतियोगिता हुन सकेन ।

दोस्रो भएका रावतले ५० हजार र तेस्रो हुने थापाले २५ हजार पुरस्कार पाए । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपे घाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, सभा चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सकिएको संस्थाका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org