ताजा समाचार

जाजरकोट भुकम्पले ३५ हजार परिवार घरबासविहीन

काठमाडौं । गत शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ ।जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन् । यो जिल्लामा १ सय ३३ जना घाइते छन् । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन् । भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

पहिले नै जोखिमपूर्ण भनेर सार्नुपर्ने भनिएका बस्ती उपेक्षामा परेकाले पनि बढी क्षति भएको छ । मुसलधारे वर्षासँगै ०६८ जेठमा आएको पहिरोले यहाँको चिउरी बस्तीलाई नै घेर्‍यो । ठाउँठाउँमा धाँजा फाटेर जोखिम बढेपछि बस्ती नै सार्नुपर्ने अवस्था आयो । स्थानीय अन्यत्र जग्गा खोज्ने प्रयासमा लागे । तर १२ वर्षदेखि बस्ती नसार्दा नलगाड नगरपालिका–१ चिउरी बस्तीले यसपालि भूकम्पमा धनजनको ठूलो क्षति व्यहोर्नुपरेको छ । ०५१ साउनमा पनि यो बस्तीलाई पहिरोले घेरेको थियो ।

सोही बस्ती पहिरोका कारण ०६८ मा झन् जोखिममा परेपछि स्थानीय प्रशासनले बस्तीलाई अन्यत्र सार्नुपर्ने निर्णय गरेको थियो । ‘बस्ती सार्नुपर्ने निवेदन दिएर जग्गाको खोजीमा थियौं, वर्षात् सकिएपछि सबैले बिर्से, बस्ती नसार्नुको मार अहिले भोग्यौं,’ भूकम्पमा मृत्यु भएका ५ वर्षीय हिरे चनाराका आफन्त धनवीर चनाराले भने, ‘जोखिमयुक्त २ सय घरधुरीले जग्गाको निकै खोजी गर्‍यौं तर भनेअनुसार नपाएपछि बिर्से जस्तै भएका थियौं ।’

भेरी नदी किनारमा अवस्थित उक्त बस्तीमा त्यतिबेला पनि चार घर भत्केका थिए । गत शुक्रबारको भूकम्पले चिउरी बस्ती छेउको चोचे टोलका ४० घर ध्वस्त हुँदा ६ परिवारका १३ जनाको मृत्यु भयो । ‘एकै पटक यति धेरैको मलामी गएको जिन्दगीमा भोगेको थिइनँ,’ ७० वर्षीय मोते चनाराले भने, ‘पहिले पहिरोले आफन्त गुमायौं । अहिले भूकम्पले सबै लग्यो । फेरि यस्तै अवस्थामा बस्नुपरे अझै कति क्षति व्यहोर्नुपर्ने हो रु’ विपद्का बेला मात्रै बस्ती सार्ने चर्चा भए पनि त्यसअनुसार काम नगरिँदा जनधनको क्षति व्यहोर्नुपरेको हो । यहाँ भूकम्पले ४० घर ध्वस्त बनाएको छ भने धेरैजसो घर बस्न नमिल्ने गरी चर्केका छन् । सडक र खेतबारीमा धेरै ठाउँ चिरा परेका छन् ।

भूकम्पका कारण सबैभन्दा बढी क्षति व्यहोर्नुपरेको यो बस्तीमा सोमबार दाल, चामल, त्रिपाललगायत राहत सामग्री वितरण गरिएको छ । स्थानीय अहिले बारीमा त्रिपाल हालेर रात कटाइरहेका छन् । सोमबार पनि आएको परकम्पको धक्काले स्थानीय झन् त्रसित बने ।

‘चर्किएका घरबाट सामान केही निकाल्न सकिएको छैन । भूकम्प गइरहेकाले कति बेला पुरिन्छ अत्तोपत्तो छैन,’ मोतेले प्रश्न गरे, ‘पाल र चामल त बल्ल पाइयो, चिसो रात कति दिन यसैगरी काट्नुपर्ने हो रु’ दलित समुदायको बसोबास रहेको उक्त बस्तीमा सबैजसो कच्ची घर छन् । यहाँका प्रायः युवा कमाइका लागि भारततिर जान्छन् । जिल्लाका अन्य बस्तीका विस्थापित पनि तीन दिनदेखि गाँसबासको ठेगान नहुँदा अलपत्र छन् । एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णयले तत्काल राहत पुर्‍याउनुपर्ने स्थानीय सरकार वितरण मापदण्ड बनाउनमै व्यस्त छ ।

भूकम्पले सबैभन्दा बढी प्रभावित भेरी र नलगाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकाका पीडितले ओत लाग्न त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । ‘अन्नपानी त कुरै छोडौं, स्थानीय सरकार अझै त्रिपाल खोज्नमै व्यस्त छ । उब्जनी भएको ४ मुरी अन्न चौपायालाई समेत दिन नमिल्ने गरी माटोमै मिल्यो,’ नलगाड–१ च्युरीका भक्तबहादुर सुनारले दुखेसो पोखे ।

जिल्लामा छेडा–ढुंगिल, खलंगा–पाँचकाटिया र भेरी कोरिडोरबाहेक अन्य सडक सञ्जाल विस्तार छैन । यी सडकमध्ये भेरी कोरिडोरको जाजरकोट–डोल्पा खण्डबाहेक अन्य मौसमी सडक मात्रै हुन् । नलगाडमा भूकम्पग्रस्त क्षेत्र निरीक्षण गर्न गएका कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंहले साना ट्रक र जिपमा पर्याप्त राहत सामग्री ढुवानी गर्न नसकिने र भूकम्पपीडित सबै बस्तीमा तत्काल राहत पुर्‍याउन कठिनाइ भइरहेको बताए । अहिले छिन्चु–जाजरकोट सडकको १ सय ७ किमी खण्डमा राहत सामग्री बोकेका ढुवानीका साधनको लाइन लागेको छ ।

राहत सामग्री बोकेका १२ चक्के ट्रक सदरमुकामदेखि डोल्पा खण्डको २८ किलोमिटरसम्म मात्रै गुड्छन् । कुशे, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिकातिर राहत सामग्री लैजान कठिनाइ भइरहेको छ । भेरी–१ स्थित भूकम्प प्रभावित पिपे, मैदे बस्तीमा घरगोठमा पुरिएका चौपाया गन्हाउन थालेका छन् । सिनो व्यवस्थापन गर्न सोमबारदेखि सेना–प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org