ताजा समाचार

जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे

काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन र तातोपानीको लामाचौर पाटनमा चट्याङ पर्दा शनिवार एकै दिन ७५ भेडा मरेका हुन् ।

शनिवार दिउँसो ४ बजेको समयमा पातारासीको चेप्टे पाटनमा चट्याङ पर्दा पातारासी–२ तल्फी गाउँका किसानका करिब ५६ भेडा मरेका छन् । चट्याङमा परी पातरासी गाउँपालिका वडा २ का अध्यक्ष बल बहादुर वोहोराका ९ वटा, चन्द्रलाल वोहोराका ६ वटा, जोगिलाल वोहोराका २४ वटा, मान बहादुर वोहोराका ६ वटा, लाल बहादुर बोहराको ७ वटा, हिरालाल वोहोराका ४ वटा गरि ५६ वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी दिए ।

भौगोलिक रूपमा चेप्टे पाटन टाढा रहेको र फोन सम्पर्क हुन पनि कठिनाइ हुने भएकोले क्षतिको सम्पूर्ण विवरण अझै नआएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताए। उनले हरेक वर्ष चट्याङले किसानलाई ठुलो नोक्सान हुने गरेकोले भेडा पालक किसानलाई अनिवार्य बिमाको पहुँचमा पुराउनु पर्नेमा जोड दिए । पातारासी कृषि,जडीबुटी सँगै भेडा पालनमा आत्मनिर्भर पालिका हो । तर भेडापालन व्यवसाय प्रर्बद्दनमा भने स्थानीय सरकार चुक्दै आएको छ ।

यता तातोपानी गाउँपालिका वडा नं ४ स्थित लामाचौर पाटनमा चट्याङ पर्दा १९ भेडा मरेका छन् । तातोपानी–४ गिडिखोलाका ४ जना किसानका १९ भेडा मरेको र १८ भेडा बेपत्ता रहेको ४ नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताए। शनिवार दिउँसो भेडाका बथानमा परेको चट्याङ परेको थियो ।

खाली पाटनबाट फूलचौल्या तर्फ ल्याउँदै गरेको अवस्थामा दिउँसो करिब ३ बजेर ४७ मिनेटमा लामाचौर पाटनमा चट्याङ पर्दा गिडिखोला गाउँका भेडापालक किसानका १५ भेडा मरेको वडाध्यक्ष रोकायाले जानकारी दिए । यसरी शनिवारनै दुई पालिकाका पाटनमा परेको चट्याङले ७५ भन्दा बढी भेडा मरेका हुन् भने १८ भेडा बेपत्ता रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org