ताजा समाचार

सत्ताधारी कम्युनिस्ट कमिसन खाने र अर्बौँ कमाउने मात्र भएः झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट सत्ताधारीहरू कमिसन खाने र रातारात खर्बौँ कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । त्यस धन्दामा अहिलेको सत्ताधारी मात्र नभई २०४६ देखिकै सरकार लागिपरेको उनले आरोप लगाए ।

‘कम्युनिस्ट सत्ताधारीले कमिसन खाने, रातारात खर्बौँ कमाउने र देशलाई उपभोक्ताको रूपमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय कम्पनीको बजार बनाउने काम भएको छ । अहिलेको सत्ता मात्र नभई ०४६ देखि नै यही भइरहेको छ ’खनालले भने। मुलुकको समस्या समाधानको उपाय पहिलो वाम एकता, दोस्रो प्रगतिशील सुधारको वृहत् प्याकेज, त्यसलाई कार्यान्वयन गर्ने प्रगतिशील सरकार र त्यसको आधारमा राष्ट्रिय एकता आवश्यक रहेको उनको भनाई छ ।

यस्तै कर्णाली प्रदेशका भूकम्पपीडितहरूको राहत, उद्धार र पुननिर्माणमा देश विदेशबाट व्यापक राहत आए पनि सम्बन्धित ठाउँमा नपुगेको खनालले आरोप लगाए । ‘सरकारले प्रभावकारी ढङ्गले राहत वितरण र उद्धारको काम गर्नुपर्थ्यो, सकेन । यो अत्यन्त दुःख र बिडम्बनाको कुरा हो । देश विदेशबाट धेरै राहत आएका छन्, ती कहाँ गए’, सरकारमाथि प्रश्न उठाउँदै उनले भने, ‘प्रभावित क्षेत्रमा राहत पुग्नुपर्ने ठाउँमा नेताहरूको मात्रै लर्को भयो । राहत केही पुगेन ।’

प्रभावित जिल्लामा चिसो बढेकाले तत्काल पीडितहरूलाई राहत, त्रिपाल, लत्ताकपडाको व्यवस्था गर्न उनले सरकारसँग माग गरे । २०७२ को भूकम्पबाट पाठ सिकेर सरकारले पहिल्यै देखि नै बजेटमा व्यवस्था गर्न सरकार चुकेको उनको भनाइ थियो । उनले पहाडी र तराई क्षेत्रमा जति पनि परम्परागत घर बनेका छन्, ती घरहरूलाई भूकम्प प्रतिरोधी बनाउर्नेमा जोड दिए । यसलाई अभियानकै रूपमा सरकारले आगामी दिनमा योजना नबनाए भूकम्पले ठुलो जनधनको क्षति व्यहोर्ने उनले चेतावनी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org