ताजा समाचार

युवा संघ र दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन आज ,काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध

काठमाडाैँ । नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईंकाे नेतृत्वमा रहेकाे अभियानले आज काठमाडाैंका छुट्टाछुट्टै स्थानमा परस्परविराेधी शक्ति प्रदर्शन गर्दैछन् ।

प्रसाईंकाे नेतृत्वकाे कार्यक्रम बल्खुमा हुँदैछ भने युवा संघले काठमाडाैंकाे तीनकुनेमा प्रदर्शन गर्दैछ ।

दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि रणभूमि हुन नदिन प्रशासनले अलग–अलग स्थान ताेकिदिएकाे हाे । प्रसाईं नेतृत्वकाे अभियानले ७ मंसिरमा काठमाडाैंमा प्रदर्शन गर्ने घाेषणा गरेपछि एमालेले त्यसकाे प्रतिवादमा आफ्नाे प्रदर्शन जुधाएकाे हाे ।

मुलुककाे दाेस्राे ठूलाे दल एउटा व्यक्तिकाे प्रतिवादमा उत्रेकाे भन्दै एमालेकाे आलाेचना भइरहेकाे छ ।

सुरक्षा व्यवस्था कडा

युवा संग र दुर्गा प्रसाईंकाे आन्दाेलनका कारण काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा पारिएकाे काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए । उनका अनुसार तीनवटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेका छन् ।

‘काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ,’ उनले भने, ‘यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरू के के हुनसक्छन् भन्ने कुरालाई मध्यनजर गरी सुरक्षा याेजना लागू गरिसकेका छाैँ’, उनले भने ।

विरोध प्रदर्शनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको उनको भनाइ छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको खत्रीले बताए ।

नागरिकलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन खत्रीले आग्रह गरे । यातायातको आवागमनमा भने केही समस्या भए पनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उनको भनाइ छ ।

‘कुनै पनि संशयबिना ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालनकाे तयारी हामीले प्रभावकारी रूपमा गरेका छौँ,’ उनले भने, ‘कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org